शरणार्थीलाई अमेरिका

शरणार्थीलाई अमेरिका

भोजराज न्यौपाने

 

ढल्यो

सर्वश्व ढल्यो ।

त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु

र खोज्दैछु म त्यस्तै

नोष्टाल्जिक आँखाका सुन्दर सपना

ओहो

कसरी भयो एकाएक यस्तो ?

कसले भत्कायो मेरो घर ?

कसले उखेल्यो पारिजातको रुख ?

कसले ढाल्यो तुलसीको मोठ ?

कसले सल्कायो गोठमा आगो ?

उग्राइहेका चौपाया

र भकारो सोहोरी रहेकी बुहारी

कोही जीवित भएनन

जहाँ म जन्में, त्यही हो मेरो धर्ती

थाहा छ ?

म जन्मेको देशले स्वीकार गरेन मलाई

पिता पुर्खाको के कुरा ?

आफ्नै दौंतरीका आँखामा म अनागरिक बनें

के दोष थियो मेरो , जहाँ म अनागरिक बन्न पुगें ?

आफ्नै चाहानामा मान्छे जन्मन सक्दैन भने

कसरी म अनागरिक हुन सक्छु ?

पटक्कै सक्दिन ,

म जन्मेकै देश मेरो हो

त्यसैले मलाई यही देशको माटो प्यारो छ

मलाई यही देशको माटोको सुगन्ध प्यारो छ ।

म आफ्नो सुन्दर वाल्यकालको

सुखद क्षण सम्झँदैछु ।

र, कुर्दैछु विरानो ठाउँको अत्यासलाग्दो परिवेश ।

सम्झन्छु कति रमाइलो हुन्थ्यो होला

मेरो देश यतिकै विकसित भैदिए

मेरो देशको सरकार

यतिकै विवेकी भैदिए ।

कसले विझाउन सक्थ्यो मलाई

शरणार्थीको बोझिलो शव्दमा

र अप्रिय आश्वासनमा ?

यतिबेला

पाइलै सार्न नसक्ने भएको छु म

किनभने मेरा चाहनाका पाइलाहरु रोकिएका छन्

अमेरिकाको यो विशाल आकाशमा

म मेरो देशको सानो नक्सा कोरिरहेको छु

जहाँ अनगिन्ती सपना

मेरो आँखा अगाडि विस्कुन बनेर

सुकिरहेका छन् ।

 

(भुटानी शरणार्थीलाई अमेरिका लगिएपछि लेखिएको कविता )

https://www.samakalinsahitya.com/sahitya/article/878

Leave a Reply

Your email address will not be published. Required fields are marked *