गुलाव, आँशु र खरानी

 

भोजराज न्यौपाने

‘मलाई जिन्दगीदेखि पट्यार लाग्दैछ विजय ।’

‘किन र ? के भयो नेजिया ?’ — मैंले उसको जिन्दगीप्रतिको निराशाको भाव बुझें ।

‘मैंले जीवनमा स्वतन्त्रताको उपभोग त गरें तर, मृत्यूको उपभोग गर्न सकिन’ उ भन्दै थिई —‘ के मृत्यूवरण गर्न
पाउनु मेरो स्वतन्त्रता होइन ?’

‘ मृत्यु स्वतन्त्रता र नियन्त्रण बाहिरको कुरा हो नेजिया ’— म उसलाई सम्झाउने मुडमा आएँ ।

‘ किन मृत्यू मेरो बशमा छैन र ? मैंले नचाहेसम्म मात्र टाढा भएको भन्ने बुझ्न नसकिने हो र ? ’— उ अझै जिद्दी
बन्दै गई ।

‘तिमीले भनेजस्तै सवैको ‘मृत्यू इच्छा’ ले स्वतन्त्रता पाउने भए समाजको स्वरुप अराजक बन्नेछ नेजिया ।’ —मैंले
सम्झाउने हिसावले भनें ।

‘कसरी बन्छ अराजक ? मानिसले चाहेर मृत्यु वरण गर्दा त समाज झन सभ्य हुनु पर्ने होइन र !’ उ पनि के कम ?
—‘रोग र आयु पर्खिनु पर्ने बाध्यताले कम्ती तनाब दिएको छ त ?’

प्रकृतिमा कुनैपनि जीव आफ्नो चाहनामा मर्न पाएको तिमीले देखेकी छौ ? फेरी मान्छेका चाहना सधै एउटै
अवस्थामा रहिरहन्छ र ? अहिले एक पल पनि बाच्न नचाहने मानिस केहीदिन पछि भेट्दा मृत्युको कुरै गर्न
नचाहने हुन्छ । त्यसैले पनि हुन सक्छ ‘इच्छा मृत्यु’ अस्वीकार्य भएको । निको नहुने रोग र बुढ्यौलीले गलेकालाई
‘इच्छा मृत्यू’ गर्न पाउनु पर्ने आवाजपनि त उठिरहेकै छ नि ’ म बोल्दै थिएँ — ‘ महाभारतमा भिष्मको
जस्तो इच्छामृत्यूको बरदान हामीले पाउँदैनौ नेजिया ।’

रानीपोखरीमा सूर्यको मधुरो प्रकाश देखिन्थ्यो । क्रमश साँझ पर्दै थियो । अफिस छुटेर आ आफ्नो निवासमा
जानेहरुको लर्को थियो सडकभरि । यो व्यस्तता हेर्दा लाग्थ्यो यात्रीहरु कुनै विशेष समारोहको भव्य तयारीमा
जुटेका छन् ।

दरवारमार्ग झकिझकाउ थियो ।
रेष्टुरेन्टका वत्तीहरु बल्दै थिए । ब्रेयन एडम्सको ‘एट्टिन टिल आई वील डाई …’ वोलको गीत बज्दै थियो । गीतले भावुक भएकी ऊ इच्छा मृत्युको कुरामा जोड दिइरहेकी थिइ ।
ह्विस्कीसंग लठ्ठिँदै गरेका निला आँखामा गहिरो भावुकता झल्किइ रहेको थियो । गोरो अनुहार, सुनौला केशराशी
बीचमा अडिएका तिनै गहिरा आँखाले घरि घरि मलाई हेर्थे । उसको हेराइमा मैले एउटा उदासी अनुभव गरिरहेको
थिएँ । जीवन प्रतिको उदासी, हुन सक्छ प्रेम प्रतिको उदासी ।

खिरीला औंलामा मार्लवोरो चुरोट च्यापेर उसले मलाई एक पेग थप्ने आग्रह गरी । उसको आग्रहलाई मैंले स्वीकारिदिएँ

‘जीवनमा एकचोटी मात्रै बसन्त छाउँदो रै छ विजय ! मलाई लाग्छ जीवनपनि वसन्तपछिको फूलझै यौवनपछि लगत्तै
ै मर्नुपर्ने ।’

ओहो सम्झँदै डर लाग्ने कुरा ग¥यौं नेजिया –‘यही नमर्नुमा त जीवनको आनन्द छ ।’ मैंले भनें ।

‘यस्तोे रुखो जीवन ? छि ः वाँचेरपनि दिनदिनै मर्नुभन्दा यौवन नसकिँदै मर्न पाएको भए कति मज्जा हुन्थ्यो ।
मलाई यस्तो अर्थहीन जीवन बाच्नै मन लागेको छैन ।’ ऊ मृत्यु कै कुरामा अड्कीरही ।

हुनसक्छ एउटा खतरनाक निरासाले उसलाई गाँजेको छ ।

धेरै निराश मानिसले कुनैपनि बेला आफ्नै विरुद्ध अप्रिय निर्णयपनि त लिन सक्छ !
म मनमनै तर्सिएँ ।

के नेजियाले आत्महत्या गर्ली ?

नेजियासंग मेरो परिचय भएको धेरै भएको छैन । नेजिया र हाना दुवै साथी हुन् । .उनीहरुलाई मैले भक्तपुरको दरवार स्क्वायरमा केही महिना अघि भेटेको थिएँ । नेजिया अष्ट्रेलियन हो । हानाले आफुलाई डच बताएकी थिइ ।

उनीहरु दुवै जना एउटा गैर सरकारी संस्थामा भोलेन्टिएरका रुपमा नेपाल आएका हुन् । त्यतीबेलै उनीहरुसंग मेरो मित्रता शुरु भएको थियो । छोटो समयमा नै हामी निकै घुलमिल भैसकेका थियौ । अक्सर साँझपख हामीहरु भेट्थ्यौ । पिउँथ्यौ र आ आफ्ना जिन्दगीका कुरा गथ्र्यौ ।

‘केहीदिन हिमालको काखमा पुग्ने मन छ तिमीसंग ’ नेजिया सधै भन्थी ।

म हाँस्थे । र, भनिदिन्थें ‘म संगै छु , हिमालको काख त तिम्रो नाम नै हिमाल राख ’ ।

नो, यसरी होइन ।

अनि कसरी त ?

यी यसरी, उसले मेरो हात समाउथी र किस खान्थी । म हाँस्थे । र, टारी दिन्थें ।

उनीहरुको नेपाल वसाई सकिन लागेको थियो । हामी केही महिनामैं मज्जाले घुलमिल भैसकेका थियौ । जाने दिन नजिकिँदै गर्दा एकदिन नेजियाले आफूलाई फर्किन मन नभएको बताएकी थिई ।

अष्ट्रेलिया फर्कनु तीन दिन अघि हामी पोखरा गयौं । हामीसंगै हानापनि थिई । फेवातालको किनारमा फागुन महिनाको सुन्दर साँझ । सिंगै प्रकृति त्यही ओइरेजस्तो लाग्थ्यो । साँझ छिप्पिंँदै गयो । तालमा चन्द्रमाको आकृति मोहक देखिएको थियो । चन्द्रमा तालभित्र पौडिंन थालेको जस्तै लाग्दथ्यो । म यो अभूतपूर्व सौन्दर्यमा डुब्दै थिएँ । तर, नेजिया रम्न सकि रहेकी थिइन । ऊ भित्र केही कुरा उर्लीरहेको थियो ।

यस्तो अवस्थामा ऊ ननस्टप ह्विस्की पिउथी । चुरोट सल्काउँथी ।

‘नेजिया तिमी अष्ट्रेलियामा पनि यत्तिकै पिउँछ्यौ ?’ उसको पिउने बानीलाई लक्षित गरी मैंले सोधें ।

‘पिउँछु ! लाग्छ मान्छेको जिन्दगीनै रक्सी हो । ’ म अवाक भएँ ।

‘तिमीले कसैलाई प्रेम गरेका छौ ?’ उसले अचानक गम्भीर भएर सोधी ।

कसरी भन्न सक्छु म उसलाई मेरो प्रेम कहानी ? कसरी भन्न सक्छु म मेरो प्रेम, विवाह र डिभोर्स । म आफूले आफैंलाई भुल्न खोजीरहेको विषय किन उठाउँदैछ नेजिया ?

एक मनले म चुपचाप कतै भागौं जस्तै भयो । तर, मनले मानेन उसलाई भनिदिएँ ‘म जीवनमा प्रेमको लायक बन्न सकिन नेजिया ! न मैंले प्रेमको अर्थ बुझ्न सकें न प्रेमनै गर्न सकें ।’

मैंले अलिकति दार्शनिक पारामा भनें ।

जव तिमी प्रेमको परिभाषानै बुझ्दैनौ भने रक्सीको परिभाषा कसरी बुझ्छौ ? रक्सीको परिभाषा बुझ्न प्रेम गर्नु पर्छ । किनकी यो रक्सी त्यही प्रेमसंग जोडिएको सत्य हो । उसले गिलासको बाकी ह्वीस्की देखाउदै भनी ।

म एकछिन चुपचाप बसें । र, सोधें — के तिमी प्रेममा छ्यौ ?

उसले रक्सीको घुड्को स्वाट्टै पारी र भनी — ‘थिएँ तर जसको प्रेममा थिएँ ऊ नै यो संसारमा छैन । उसले दुवै हातले आफ्नो अनुहार छोपी र आकाशतिर फर्किंइ ।

‘सरी’ !  म मौन भए ।

‘वाल्टर एक अफ्रिकन हो । म जर्मन गएको बेला त्यही हाम्रो परिचय भएको थियो । वाल्टर जर्मनमा कृषि विशेषज्ञको रुपमा कार्यरत थियो । उ समुन्द्र अति मन पराउँथ्यो । बिदाको समय महिनौ सामुद्रिक जहाजमा घुम्नु उसको सौख थियो । म जर्मनमा बसुन्जेल हामी संगै बस्योैं । वाल्टर भावुक थियो । मलाई असाध्यै प्रेम गथ्र्यो र सधै भन्थ्यो तिमी मेरी अर्की समुन्द्र हौ । तिमीसंग रहनु र पानी जहाज सयर गर्नु दुवै प्रिय लाग्छन् मलाई…! ऊ मौन भई र आफु भित्र उठीरहेको पीडाको ज्वारलाई केही शान्त बनाई ।

कामको शिलशिलामा एक वर्षपछि म अष्टेलिया फर्कें । हामी निरन्तर कुरा गथ्र्यौ । दिनदिनै जसो इन्ष्टा, म्यासेन्जर , वाट्सपले हामीलाई जोडिरहेको थियो । तर, चार वर्ष अघि मात्र ऊ एउटा डुंगा दुर्घटनामा प¥यो ।

‘ भन त विजय जिन्दगी त्यति सजिलै सकिदो रहेछ । फेरि प्रेम किन सकिदैन ?’ उसका आँखा आँशुले भरिएको थियो ।

मलाई बेचैन बनायो ।

सान्त्वना दिंदै भने—जीवन भनेको प्रेम ,आँशु र खरानी हो नेजिया । जीवनमा तीनै चिज कुनै न कुनै रुपमा पार गर्नै पर्छ ।

बास्तविकता र दर्शन एक हुन सक्दैन बिजय । किनकी मेरो जीवन सवै आँशु र खरानी मात्र हो – उसले भनी ।

त्यस्तो होइन नेजिया जीवन नयाँ शुरुवात पनि हो । त्यो शुरुवातमा अर्को प्रेमपनि त हुन सक्छ ।

त्यसो हो भने नेपाल बसाईको यो दुइदिन तिमी मसंग बाँच । म तिमीसंग नयाँ जीवनको शुरुवात गरेर फर्किन
चाहान्छु ।

उसले मेरो हात समाती र उसैगरि चुम्बन गरी ।

जीवन प्रतिको निरासाले उसलाई पुरै निलिसकेको थियो । मैले उसलाई त्यो दुईदिन पुरै साथ दिए ।

दुई दिनपछि हामी काठमाण्डौ फर्कियौ । भोलिपल्ट उसको फ्लाइट थियो ।

उसलाई विदाई गर्न म एयरपोर्ट पुगें । जानुअघि उसले मलाई अष्टेलिया पुग्नासाथ बाबु आमालाई मेरो परिचय दिने भनेकी थिई ।
उसंग हानापनि गई । उनीहरु दुवैलाई मैंले विदाईको हात हल्लाएँ ।

दिनदिनै मोवाइल गरिरहेकै थियौं । फोनमा म्यासेजमा भन्न असजिलो भएका र अलि लामो कुरा गर्नुपरे उ इमेल लेख्न मन पराउँथी ।

नेजियाको एउटा इमेल पाएँ । जसमा लेखिएको थियो – ‘मैले तिमीसंगको भेटपछि वाल्टरसंगको विछोडलाई भुल्न थालेकी छु । म फेरि नेपाल आउन चाहन्छु’ तिमीसंगको मीठो मिलनलाई मैंले जिन्दगी भर संगाल्ने विचार गरेकी छु । यदि तिमी मलाई स्वीकार्छौ भने म सदाको लागि तिमीसंगै रहने छु ।’

उसको इमेल पढ्नासाथ म अलमलिएँ ।

आफ्नै संस्कार,रितिरिवाज वोलीचाली आनीवानी सवै थाहा भएकी पत्नीले त डिभोर्स दिई भने मैंले केही दिनदेखि मात्र चिनेकी , अर्कै संस्कार , अर्कै दुनियाँकी केटीको प्रपोज मैंले कसरी एसेप्ट गरिहालुँ ? म आफैं भित्रैदेखि डराएँ ।

मेरो जीवनमा दोस्रो गल्ती नहोस् भन्ने चिन्ताले गलीसकेको थिएँ । मैंले प्रत्युत्तरमा लेखिदिएँ ‘नेजिया म तिमीलाई एक असल साथीको रुपमा सदा लिनेछु । यदि तिमी हाम्रो यही
मित्रतालाई साथ दिन आउने भए तिमीलाई स्वागत छ…..।’

त्यस पछि लामो समय ऊ सम्पर्क बिहिन भइ । मैले पनि खोजिन । एक हिसावले निठुरी जस्तै भएँ म ।

केही दिन अघि । साथीसंग नगरकोट पुगेको थिएँ । मध्यरातमा वाट्सअपमा एउटा म्यासेज आयो । हानाले म्यासेज गरेकी थिई ।
लेखिएको थियो —

प्रिय विजय !
यो दिनपनि आउला भन्ने कल्पना गरेको थिइन । अझ यो म्यासेज तिमीलाई दिनुपर्ला भन्ने त पटक्कै थिएन । नसोचेका हजार कुराहरु भईदिने रहेछन । त्यस्तै भैदियो । नेजियाले सुसाइड गरि । आफ्नो जीवनलाई निरर्थक छ भन्दै उसले सुसाइड नोटपनि लेखेकी रहिछ । सुसाइड नोटमा सबै भन्दा बढी उसले तिमीलाई सम्झेकी थिइ । प्रेम गरेकी थिइ । तिमीसंग बिताएको हरेक क्षण अविस्मरणीय रहेको उल्लेख गरेकी थिइ । अन्ततः हामीले उसलाई सदाकालागि गुमायौ बिजय । अब उसले तिम्रो हात चुमेर मलाई प्रेम गर कहिल्यै भन्ने छैन…. ।

म्यासेज पढेर स्तव्ध भएँ । म शुन्य भए । मलाई हानालाई फोन गरेर नेजियाको विषयमा थप कुरा गर्ने हिम्मत भएन । भित्रैदेखि निथु्रक्क भएँ ।

हानाले लेखेका प्रत्येक शव्दले मलाई तिखो सियोले जस्तै घोचिरह्यो । म आफूलाई सम्हालेर घरसम्म आउन निकै कठिन भयो ।

नेजियासंगका प्रत्येक क्षण मेरा आँखा अगाडि घुम्न थाले । उसले सधै मेरा हातहरु निकै सुन्दर छन् भन्दै चुम्ने गर्थि । म तिमीसंग केही पल बाच्न चाहान्छु भन्दथी ।

म भित्र घोर निराशा छायोे । किन मैंले उसलाई इग्नोर गरें ? कि मैंले उसको प्रेमलाई स्वीकार गर्नै नसकेको हो ? मैंले आफैंलाई फर्केर हेरें ।

प्रेम र विवाहको सुन्दर समयबाट अघि बढेर डिभोर्सको भयानक पींडा खेपेको नेपाली युवाले सजिलै विदेशी युवतीको प्रेमलाई स्वीकार्न सक्ला ?

किन मैंले उसलाई यही प्रश्न गर्न सकिन ? किन म उसको प्रेमलाई मौन स्वीकृति दिने तर प्रष्ट नभन्ने विन्दुमा पुगें ?
किन ?

मलाई प्यास लागे झैं भयो । इन्ष्टामा पोष्ट गरेका सवै तस्वीर हेर्न खोजें उसले इन्ष्टालाई डियाक्टिभ बनाएकी रहिछ । म छटपटाउन थाले नेजियासंगका प्रत्येक तस्वीर ल्यापटपमा हेर्न थालें ।

एक एक गरी नियालें । केही तस्वीर त उसले प्रिन्ट गरेरै दिएकी थिई । एल्वममा राखिएको एउटा तस्विर झिकेर हेरें । त्यसको पछाडि लेखिएको थियो — ‘विजय मेरो मृत्युपछि मलाई सपनामा देख्ने प्रयास नगर्नु म सपनामा पनि मृत देखिने छु । उदास देखिने छु ।’

यतिबेला मलाई उसका उदास आखाहरुमा चुम्बन गर्न मन लाग्यो । एक पटक अंगालोमा लिएर छातीमा टास्न मन लाग्यो ।

तर नेजिया अब यो संसारमा थिइन । उसले इच्छा मृत्युलाई सार्थक बनाइ सकेकी थिई ।
नेजिया तिमीलाई एक साथी भन्नु के मेरो गल्ती हो ? अचेल म आफैलाई सोधीरहन्छु । किनकी जवाफ दिन
नेजिया अब फर्केर कहिल्यै नआउने भएकी थिइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *