एउटा पुत्रकाे आत्मालाप
– भाेजराज न्याैपाने
बुबा जाँदा
आफू मात्रै जानू भएन ।
हजाराैं हजार सम्झनाका डाेबहरु छाडी जानूभाे ।
जीवनभरिलाई पुग्ने प्रेमील यादहरु
मैंले देख्दै नदेख्ने गरि मेरै हृदयकाे शीतभण्डारमा सुरक्षित भण्डार गरिदिनु भाे ।
कति फरक हुने रहेछ
पिताले पुत्रलाई गर्ने प्रेम !
सम्झन्छु !
हरेक दिन
खुसीमा सम्झन्छु
दुखमा सम्झन्छु
चाडबाडमा सम्झन्छु
पुजामा सम्झन्छु
साथीसंग, आफन्तसंग
नजिकका संग , पराईसंग
काेही उस्तै देखेर
काेही उस्तै उमेर देखेर
सम्झनाका अनगिन्ती तरेलीमा सिर्फ पिता देखिने रहेछ मस्तिष्कको ‘हार्ड ड्राइभ’ भरि !
सम्झँदा सम्झँदै
बिर्सिएर बसेजस्तो
बिर्सदा बिर्सदैं सम्झनाले
हुरुक्कै पारेजस्ताे
पिता गुमाएकाे पुत्र हुनुपनि
अत्यन्तै निष्पृह हुने रहेछ ।
दुख पर्दा दुखका पहाड बाेकीदिने
खुसी हुँदा हर्षकाे सागर तारिदिने
संकटमा पर्खाल बनेर छेकिदिने
प्रेममा सुगन्ध बाेकेर बाटाे कुरिरहने
काेही हाेस्
मेराे पिताजस्ताे
काेही हाेस् मेराे हृदयमा !
जाे सधैं आफ्नै कलेजाेमा टाँसिएर बस्ने!
कस्तो हुने रहेछ पिताकाे याद –
न भुलेर भन्न सक्छु
– मिस यु बुबा !
न सम्झनाले भन्न सक्छु – लभ यु बुबा !
