यार्चागुम्बा टिपिरहेकी केटी
भोजराज न्यौपाने
त्यही हिमालको फेदीमा
ऊ टिप्दैछे यार्चागुम्बा
हिउँजस्तै स्निग्ध मन लिएर ।
गाउँ केटाकेटी बिहीन छ
किनभने मास्टरले स्कुल पनि
लेकतिरै सारेका छन् ।
साथीसँगै लेकमा उकालो लाग्दा
झोला भरिएको छ सामलले
मन भरिएको छ घरको मायाले
तैपनि ऊ भोलि फर्कने आशामा
आफ्नै गन्तव्य रेखामा
आफैँलाई डो¥याउँदै छ ।
उसलाई थाहा छैन
केको औषधी हो यार्चागुम्बा ?
मात्र थाहा छ–
यार्चागुम्बा टिप्नु भनेको
पैसा कमाउनु हो ।
उसलाई त्यही पैसाले
किताब किन्नु छ ।
उसलाई त्यही पैसाले
एकजोर लुगा लगाउनु छ ।
दुई चारवटा चकलेट भाइ बहिनीलाई
र, अलिकति नुन तेल बाआमालाई दिनु छ ।
हिउँ पहिरोको छातीमै छ ऊ
हिउँको चिसोले
कठ्याङ्ग्रिएका उसका पैताला
र, कलिला हातहरुमा
बालअधिकारका कुनै दस्तावेज छैनन् ।
बालबालिकाले श्रम गर्नु नपर्ने
उज्याला भविष्यका सुदुर मार्गचित्र छैनन्
त्यसैले ऊ व्यस्त छ
यार्चागुम्बा टिप्न
र, यार्चागुम्बासँगै गाँसिएको भविष्य टिप्न ।
