जहाज चढ्न जाँदा जाँदै
भोजराज न्यौपाने
म जाँदैछु
सुन फल्ने पाखोबारी बाँझो राखेर
खाडीको बगरमा पसिना बगाउन जाँदैछु ।
असंख्य संभावनाका चुली टेकेर
सफलताको माला लगाउने मेरो संकल्प
कति निर्ममतापूर्वक कुल्चियौ ?
ए सरकार
कहाँ छ तिमीभित्र देशप्रेम ?
लगाउन त मपनि
प्रत्येक जन्मदिनमा माटोकै टिका लगाउँछु
हरेक विहान मुस्काएको हिमालसंग खुसी हुन्छु
काँधमा देशको झण्डा भिरेर
पुर्खाको पौरख र वीरतामा गर्व गर्छु ।
देशमा शान्ति छाओस भनेर
भगवानसंग प्रार्थनापनि गर्छु ।
एउटा नागरिकले जे गर्न सक्छ गरेकै छु
म धेरै कुरा मागेर सरकारलाई अप्ठ्यारो बनाउन चाहान्न ।
म उद्यम गर्न माग्दछु थोरै व्याजमा ऋण
बैंक माग्दछ चर्को ज्यानमारा व्याज ।
म माग्दछु छिटो छरितो सेवा
कर्मचारी माग्दछ घुस
म माग्दछु उद्यमी मैत्री नीति
सरकार बनाउँछ विचौलिया पोस्ने रणनीति
म माग्दछु न्याय
न्यायलय दिन्छ बर्षौ लामो तारिख
म माग्दछु गुणस्तरको शिक्षा
पार्टीहरु बनाउँछन् शिक्षकलाई कार्यकर्ता
म माग्दछु सहुलियत दरमा मल विउ
सरकार भित्र्याउँछ विषादी तरकारी
म माग्दछु स्वदेशमै रोजगारी
सरकार बनाउँछ फ्री भिसा फ्री टिकटको नीति
म माग्दछु सुलभ सार्वजनिक यातायात
सरकार बढाउँछ साना सवारी साधनको आयात ।
म सरकारसंग माग्दामाग्दै थाकेको छु
हरेक अड्डा धाउँदा धाउँदै थाकेको छु ।
आफ्नै पैतालाको भरमा उभिन खोज्दा
म जमिन विनाको एक्लो बनेको छु
सुन ए सरकार
म जाँदैछु
म यहींकतै छाडेर जाँदैछु तिम्रो अजङ्गको असफलता
जाँदाजाँदै मेरो विन्ती सुन
मेरो मातृभूमिलाई थप असफल नबनाउ
मेरो जन्मभूमिलाई थप कङ्गाल नबनाउ ।


outstanding❤️