कविता

चरिकोट
भोजराज न्यौपाने
गौरीशंकरको चेपबाट
झिसमिसेमैं चिहाउँछ घाम
र, साँझमा सिम्रिक घोलिएको तस्वीरजस्तै रातो बन्छ हिमाल ।
शैलुङको सय थुम्काबाट आउने सिरेटोले हरेक दिन साउती मार्छ
खरिढुंगाको विशाल खानीले पर्खिरहेको छ उत्खनन्
फिल्मसिटीको सौन्दर्यमा लुकामारी गर्दैछन् पर्यटक
जंगलैभरि फुलेका गुराँसका बोटमा अल्झिरेका छन् प्रेमिल सपना
ओहो , म कति सुन्दर कविताको देशमा छु यतिबेला ।
यहींबाट शिव पार्वतीको रोमाञ्चक प्रेम कहानी सुन्दैछु
यहींबाट तामाकोशीको कञ्चन पानीको कलकल सुन्दैछु
चरिकोट , म तिम्रो हृदयको ढुकढुकी छाम्दैछु ।
स्विट्जरल्याण्डको तिर्सना मेटाउने जिरीबाट छुटेको बस
बुस्तीको डिलबाट सुुसेल्छ
र, तामाकोशीमा चिया पिउँदै ठडिन्छ सातदोबाटो ।
मन्थलीबाट किनारै किनार आउँछ
जुनारको सुवास
हलुवावेदको सुगन्ध
र, खिम्तीको जललहर ।
कालिञ्चोकको मोहक सौँदर्यमा रमाउँदै
आईपुग्छन् प्रेमिल जोडी
भगवतीको दर्शन गर्छन् , हिउँमा चिप्लेटी खेल्छन्
फुललाउने गैरामा सुनबुकी टिप्छन
र, उपहार दिन्छन् प्रेमी प्रेमिकालाई ।
तान्त्रिक सभ्यतालाई पछ्याउँदै
कति कति पश्चिमाहरु
सुटुक्क भीमेश्वरको शरणमा पुग्छन्
र, आफूलाई शक्ति र उर्जाले वलशाली बनाउँछन् ।
मनभरि भाकल बोकेर
परिवारमा सुस्वास्थको प्रार्थना गर्दै
भीमेश्वरको दर्शनमा छन् केही ।
आफ्नै प्रेमको फुल फुलाउन को नपुग्ला र महाँकाल ?
सपनाका रङ्गिन चित्रहरुमा अलौकिक सौन्दर्यमा देखिने
को नपुग्ला र सुन्द्रावती ?
ओ चरिकोट
कति सुन्दर तरेली बोकेर उभिएको छौ मस्तसंग ?
च्छोरोल्पा हिमतालको काखैमा डुलिहिंड्छन् आरोहीहरु
रोल्वालिङमा हिमालसंगै मुस्कुराउन जाँदैछन केही यात्रु
चरिकोटबाट रोल्वालिङ जानेबेला
भोर्लेको छहरामा एउटा टिकटक बनाउनु छ
विगुको गुम्बामा पुगेर शान्तिको मन्त्र उच्चारण गर्नुछ
केही थान बत्ती बाल्नु छ
र फर्किंदा मनभरि प्रेमको दियो बालेर
संसारभर शान्तिको कामना गर्नुछ ।
तिमीसंग सुटुक्क मायाँ साट्नु छ चरिकोट
तिमीले त मलाई मोहनी लगायौ
एउटा सेल्फी त तिमीसंग पनि खिच्नुछ ।
