फूलहरु

 

फूलहरु

भोजराज न्यौपाने

फूलहरु हरेक दिन
भवँरासँग तर्सिन्छन्
र, उनीहरुसँगै समर्पित हुन्छन् ।

फूलहरु हरेक क्षण
हावाहुरीदेखि डराउँछन्
र, उनीहरुकै तालमा नाच्छन् ।

फूलहरु मान्छेदेखि डराउँछन्
र, उनीहरुकै गलामा सजिन्छन्

थाहा छ फूलहरुलाई
सुन्दर हुनु अभिशाप हो ।
कोमल हुनु अभिशाप हो ।
र, सुगन्धित हुनु पनि अभिशाप हो ।

मौसमैै पिच्छे
झर्दै जानु, पलाउँदै जानु
र, निम्सरो हावाको झोक्कासँग
हार्दै जानुमै फूलहरु सौभाग्य ठान्छन् ।

किनभने
फूलहरुलाई शाश्वत् नियम थाहा छ
नझरी फेरि कसरी फुल्नु ?

(छुटेको जुत्ता कविता संग्रहबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *