ढोका र मान्छे

 

भोजराज न्यौपाने

म हरेक पटक
ढोकाबाट ओहोर–दोहोर गर्दा
सोच्छु—
ढोका र मान्छेमा
निकटता छ—समानता छैन
स्पर्श छ—आत्मियता छैन ।

ढोका
प्रत्येक क्षण
मान्छेले चाहेको बेला उघ्रिन सक्छ
मान्छेले चाहेको बेला ढप्किन सक्छ
उ मान्छेद्धारा नियन्त्रित छ
त्यसैले
ढोकाको कुनै स्वार्थ हुँदैन
ढोकाको कुनै चाहना हुँदैन ।

ढोका
मन्दीरमा छ—मस्जीदमा छ
चर्चमा छ–गुम्वामा छ
झुपडीमा छ—दरवारमा छ
भिन्न देखिन्छन् ढोकाका स्वरुपहरु
भिन्न देखिन्छन् ढोकामा कुंदिएका आकृतिहरु
तैपनि ढोकाको काम एउटै हुन्छ
ढप्कीदिनु !

ढोकाले कुनै धर्म जान्दैन
ढोकाले कुनै विभेद मान्दैन
अछुत भन्दैन — जनजाति भन्दैन
धनी र गरिव केही भन्दैन
सवैलाई समान देख्छ , रिसराग गर्दैन ।
ढोकाले सवैलाई एउटै ठान्छ ।

तर , हामी धर्मको नाउँमा
जातिको नाउँमा
छुत अछुतको नाउँमा
मान्छेले मान्छेलाई नै घृणा गर्छौं
मान्छेले मान्छेलाई नै तिरस्कार गर्छौ

हामी ढोका जस्तो उदार हुन सकेनौं
हामी ढोका जस्तो संयम बन्न सकेनौंं
तैपनि हामी मान्छे हौं
निष्प्राण ढोका भन्दा
मान्छे भएकोमा गर्व गर्छौं

व्यवहारमा
ढोका मान्छे जस्तो छ
र मान्छे काठको मूढो जस्तो छ !

One thought on “ढोका र मान्छे

  1. हजुरका कबित, लेख रचना सबै उत्कृष्ट हुन्छन ।
    यो कबिता पनि मार्मिक छ ।
    दिनहु पढ्न पाइयोस ।

    ढोकाको कुनै स्वार्थ हुँदैन
    ढोकाको कुनै चाहना हुँदैन ।

    हामी ढोका जस्तो उदार हुन सकेनौं
    हामी ढोका जस्तो संयम बन्न सकेनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *