आमाको काखमा सधैं टाउको अड्याउन पाउँ

भाेजराज न्याैपाने

 

मैंले देख्दा देख्दै

तपाईका गाला चाहुरिए

केश राशी सेताम्मे भए

र, मिलेका दाँतहरु

असन्तुलित बन्दै गए ।

मलाई रत्तिभर लाग्दैनथ्यो

मेरी आमा बुढी हुनुहुनेछ ।

विश्वासै थिएन

आमाका हातगोडा कमजोर हुनेछन्

शरीर सिन्का जस्तै हुनेछ ।

मैंले पहिलो पटक काखमा बसेर

दूध चुस्ताचुस्तै देखेको थिएँ

उहाँको दृढ आँखा

गाढा मातृत्व

र, अगाध वात्सल्य ।

 

कसले सक्छ होला

आमाको प्रेमलाई अभिव्यक्त गर्न ?

लामो केश राशी औंलामा खेलाउँदै

हेर्थें आमाको मुहार

दिनभरि धान रोप्दा

निथु्रक्कै भिजेका लुगा फेर्न नपाउँदै

पुगिसक्थें आमाको अंगालोमा

पिढींको कतै कुनामा आड लागेर

जब खोल्नुहुन्थ्यो

वात्सल्यको चौबन्दी

म खुसीले छताछुल्ल हुन्थें ।

 

हावा, हुरी, पानी र गर्मी

सबै छल्नुहुन्थ्यो आमा ।

जब धोतीको फेर समातेर उभिन्थें उहाँको छेउ

म जति निडर र शक्तिशाली कोही हुँदैनथ्यो ।

 

घाँस काट्न जाँदा

दाउरा बोक्न जाँदा

पोल्टामा हालेर लैजानु हुन्थ्यो भुटेको मकै ।

र,

आफुले थोरै खाएर

घर फिर्ने बेला मलाई दिनुहुन्थ्यो ।

 

 

हरेक पटक मकै भुट्ने बेलामा

म पेट दुखेको बहाना गर्थें

र, खट्टे खाएपछि निको हुन्छ भन्थें ।

आमाको खुसी सुनबुकी बनेर फुल्थ्यो ।

 

बारीभरि रोपिएका थिए फुल

माली बन्नु हुन्थ्यो आमा ।

कहिले गोडमेल गर्नु हुन्थ्यो

कहिले कमिलालाई औषधि हाल्नु हुन्थ्यो

म त्यहीं बारीमा बसेर

डेन्थस र जर्जियाको जराबाट

खुम्ले किरा झिक्थें

र, छेउको ढुंगाले किचिदिन्थें ।

 

आमा भैंसी दुहुनु हुन्थ्यो

म गोठको थाम समाएर उभिन्थें ।

एकछिन छाड्न मन नलाग्ने

कस्तो हुँदो रै छ आमाको साथ !

 

म प्रत्येक दिन

आमाको हात समाउँछु

उस्तै लाग्छ मेरी आमाको हात

यही हातको स्पर्शले त हो मलाई

नरम र खस्रो छुट्याउन सिकाएको

कमलो र सारो छुट्याउन सिकाएको !

 

आमाको चाउरिएका गाला छाम्छु

लपक्कै भिज्छु म स्नेहले

र, पग्लिदिन्छु आफैं ।

दिनदिनै सहनै नसक्ने गरि दुख्ने

आमाको घुंडामा टाउको अड्याउँछु

र, पुलुक्क हेर्छु आमालाई

उहाँका रसिला आँखाले

सूर्यको भन्दा कैंयौ बढी

शक्ति दिन्छन मलाई ।

म निस्फिक्री आमाको वात्सल्यले दिनदिनै भिजेको छु ।

 

मलाई थाहा छ

संसारमा सवैभन्दा सम्मानित हुनुहुन्छ आमा

र,पनि उहाँको निरोगिताका लागि

म उहाँ संगै प्रार्थना गर्न सक्दिन !

आमाले चिनाएको भगवानसंग प्रार्थना गर्छु

मेरी आमाको सुस्वास्थको लागि —

भगवान !

मेरो एउटै विन्ती छ

मेरो जीवनभरि

आमालाई स्वस्थ देख्न पाउँ

आमाकै काखमा टाउको अड्याउन पाउँ ।

 

यो कविता वैशाख १९, २०७६, बिहीबार सेतोपाटी अनलाईनमा प्रकासित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *