नाकको कथा
भोजराज न्यौपाने
एकादेशमा
नाकहरुले एउटा भेला गरे
र आपसमा निर्णय गरे–
हाम्रो नाकको बनावट जस्तै
हामीलाई छुट्टा छुट्टै राज्य चाहियो ।
चुच्चो नाक हुनेहरु
नेप्टो नाक हुनेहरु
थेप्चो नाक हुनेहरु
सबै विभाजित भए ।
नाकले नाकलाई मा¥यो
अर्को नाकले अर्को नाकलाई मा¥यो
र, नाकले नाकलाई मा¥यो ।
बाँचेका केही बुज्रुकहरुले
अर्को निर्णय गरे –
सबैको नाकमा समानता हुनुपर्छ
त्यसैले अब सबैको नाक काट्नुपर्छ ।
सबै नाक काट्ने अभियानमा लागे
केही समयमा नै त्यो देश
नकटाहरुको देश भयो ।
काटिएका नाकको थुप्रो
सगरमाथा जस्तै अग्लो भयो ।
त्यही नाकको थुप्रोमा बसेर
केही देश हाँक्छु भन्नेहरुले
नाकको गाथा गाए
क्रान्तिको गीत गाए
र सबैको नाक काटिएकोमा
आँशु चुहाए ।
उनीहरुले भने–
नाक काट्ने निर्णय गलत थियो
सबैको नाक काटिएकोमा हामीलाई दुःख लागेको छ
यो सुन्दर संसारमा नाकै नभएर
कुरुप बन्ने अधिकार कसैलाई छैन
र, नाक बिना कुरुप भएर बाँच्ने अधिकार पनि कसैलाई छैन
त्यसैले
नाक काटिएकाहरुलाई हामीले
मृत्युदण्ड दिने निर्णय गरेका छौँ ।
त्यही दिन
सुरु भयो देशभरि कोलाहल
सिङ्गै देश नकटा राज्यबाट
चिहानमा परिणत भयो
अहिले पनि
त्यो देशमा
नाकको राजनीति गर्नेहरु बाँकी छन्
तर त्यो देशका नागरिक बाँकी छैनन् ।

